कोलम्बिया बिश्वबिद्यालयमा आधुनिक तिब्बत अध्ययनका निर्देशक रोवर्ट जे. बार्नेट त्यस्ता थोरै मान्छेमा पर्नुहुन्छ, जस्ले चीन, तिब्बत र यस्का छिमेकीहरुका बिषयमा गहिरो चासो र अतुल जानकारी राख्छन् । फागुन २ गते बौध्दमा एक भिक्षुले आत्मदाह गरेपछि नेपाल चीन सम्बन्धको चिसो र तातो अझै पनि चर्चामा छ । आधुनिक तिव्वतका अध्येता बार्नेट तिब्बतको कला र सँस्कृतिमा बढी चासो र जानकारी राख्छन् तर उन्को ज्ञान चीन र नेपाल सम्बन्धमा पनि त्यत्तिकै गहिरो छ । माघको अन्तिम सातातिर उनी काठमाडौमा थिए । एउटा चिसो बिहान उनीसित मैले कफी खाँदै लामो कुरा गरे । त्यो कुरा तपाईलाई पनि रोचक लाग्न सक्छ ।
- प्रोफेसर बार्नेट, तपाईं किन आधुनिक तिब्बतमा चासो राख्नुहुन्छ ?
हाम्रा पश्चिमा संस्कृति हेर्ने हो र इण्डिया र चाइनाको कुरा गर्ने हो भने, यी सबै देशको चासो तिब्बतको संस्कृति, ऐतिहासिक पृष्ठभूमि र पुराना साहित्यमा छ । तर, मेरो कुरा अलि भिन्न छ । सन् १९८७ मा म नेपाल आउँदा, तिब्बत हुँदै आएको थिएँ । त्यसबेला, चाइनामा एकदमै रमाइलो, जीवन्त आधुनिक तिब्बती संस्कृति पुनः आगमन भएको थियो । ठूलो विध्वंशपछि फेरि आएको त्यो तिब्बति संस्कृति निक्कै पृथक थियो, चाइना, नेपाल र पहिलाको तिब्बतको भन्दा धेरै भिन्न ! त्यसको स्वरुप नै नौलो थियो । र, विश्वले बुझ्नुपर्ने महत्वपूर्ण कुरा चाहिं कसरी एउटा संस्कृति परिवर्तन हुन्छ र त्यसले आफ्नो नयाँ प्रकृति जन्माउँछ भन्ने हो ।
- त्यसो भए, तपाई अझै पनि तिब्बत सम्बन्धि अनलाईन र आयोजनाहरु सञ्चालन गरिरहनुभएको छ ?
जब म १९८० को दशकमा नेपाल आएँ, मैले १०÷१५ वर्ष तिब्बत र तिब्बति बारे सूचना खोज्ने, समाचार संकलन गर्ने काम गरें जुन फरक र नयाँ काम थियो । तर, पछिल्लो १० वर्षदेखि म कोलम्बिया विश्वविद्यालयमा काम गरिरहेको छु । तिब्बतलाई पढ्न र बुझ्न शैक्षिक परियोजना तयार पारेको छु । सँगसँगै हामी समाचारको काम पनि गरिरहेका छौं । हामी, इतिहास, संस्कृति, राजनीतिक सम्बन्ध, सामाजिक प्रश्नहरु पनि पढ्ने गर्छौं ताकि विद्यार्थीहरुले बिभिन्न देशका मौलिकता बारे राम्ररी बुझुन् । समाचारमा काम गर्दा खालि सतहि कुरा मात्र नियाल्न सकिन्छ । तर, अहिले म तिब्बती संस्कृति, तिब्बतका नयाँ पुस्ताले तिब्बतमा रहेर कस्तो फिल्म बनाउँदैछन्, कस्तो चित्र कोर्दैछन्, कस्ता कथा लेख्दैछन्, आफ्नो वेभसाइटमा के विषयमा कुरा गर्दैछन्, चीनका नीति नियमले उनीहरुलाई के कस्तो प्रभाव पारेको छ, नेपाल, भारत र अमेरिकासँग उनीहरुको सम्बन्ध कस्तो छ लगायतका विषयमा लेख्दैछु ।
- नेपाल भ्रमणका क्रममा तपाईंले धेरै मानिससित भेट्नु भयो । नेपालमा विगत ६० बर्षदेखि २० हजार भन्दा बढी तिब्बति शरणार्थीले शरण लिइरहेका छन् । कस्तो लाग्छ यो अवस्था तपाईंलाई ?
म शैक्षिक हिसाबले यहाँ कुनै मिटिङ्गका लागि आएको हैन । तर, यो अवस्था देख्दा र मैले पत्रपत्रिका पढेर बझेको कुरा भने, पहिलाको दाँजोमा अहिले नेपाल र तिब्बतिबीच राम्रो सम्बन्ध छ । साथै, अन्तर्राष्ट्रिय समुदायले पनि यस विषयमा चासो देखाइरहेको छ । नेपालमा चीनको भूमिका कस्तो होला भन्ने पनि धेरैका लागि चासोको विषय बनेको छ । नेपालका लागि चीनको भूमिका निक्कै फरक छ र रोचक छ । सामान्यतया हेर्ने हो भने, हरेक देशले अरु देशमा आफ्नो गतिविधि कस्तो छ भनेर चासो राख्छ । अरु देशको दाँजोमा चीनले नेपालमा अलि विशेष चासो राख्छ । नेपालमा चीन सरकार एकदमै सक्रिय देखिन्छ । तिब्बतीको अवस्था बारे माग राख्छ । अहिलेसम्म केही सरकारले यसलाई सिमित रुपमा नियालिरहेका छन् । तर, अन्य देशका सरकार र सञ्चार माध्यम र तिब्बतीहरु यो चासोलाई सिमित मान्दैनन् बरु यो चीनको राष्ट्रियता भन्दा भिन्न छ भनेर बुझ्छन् । मलाई लाग्छ, यस विषयमा धेरै छलफल भएका छन् । मेरो बुझाई अनुसार, तिब्बतीको अवस्थाबारे माग नगरेर र यो विषयलाई धेरै पर नलाने भनेर चीन एकदम सतर्क रहन खोजिरहेको छ । जब मैले चीनका केही विज्ञ र प्राज्ञहरुसँग कुरा गर्छु, उनीहरु भन्छन्, नेपालका लागि चीनको चासो सिमित छ । तर, तथ्य बुझ्ने हो भने सबैले भिन्नै तर्क दिन्छन् । त्यसकारण, यो गहन विषय हो जस्तो लाग्छ मलाई । हामीले पढ्नु पर्ने र बुझ्नु पर्ने विषय हो । नेपाली, चिनियाँ र तिब्बतीसँग छलफल गर्नुपर्ने विषय हो ।
- त्यसो हो भने चीनको यो असिमित चासोको कारण चाहिं के होला त ?
एकदम राम्रो प्रश्न । मैले यस विषयमा यहाँ केहि व्यक्तिसँग कुरा गरें । उनीहरुका अनुसार चीनको सरकार, उस्को इतिहास र पृष्ठभूमि छोटो छ । साँस्कृतिक आधार पनि काँचो छ । त्यहाँ प्रजातन्त्र छैन, जसका कारण, उनीहरु वैधानिकताका बिषयमा चिन्ता गर्छन् । चीनको मुख्य चिन्ता उस्को आफ्नो स्थायित्व हो । नेपालमा हाल भैरहेका प्रजातन्त्रको बहस, संघीयता, खासगरि जातीय संघीयताको बहस विशेष गरी कम्यूनिष्टका लागि डरको बिषय भएको छ । चीन सोच्छ, यो विषय चीनको राष्ट्रियतासँग जोडिएको छ । मलाई लाग्छ, उनीहरु यो सबै हुन्छ भनेर डराउँछन् । किनकी, यो सबै हामीले नेपालमा भइरहेको देखेका छौं । त्यसकारण पनि चीन नेपालमा संघीयता, सांस्कृतिक अधिकारको बाँडफाँड, स्वायत्त अधिकारका विषयलाई लिएर चिन्तित देखिन्छ । यसमा पनि सबैभन्दा ठूलो डर चाहिं यो सबै नेपालमा रहेका तिब्बतिबाट भित्रिन्छ भन्ने छ । किनकी उस्ले तिब्बति शरणार्थीलाई गर्ने व्यवहार बुझ्न गाह्रो छ । उनीहरु दलाई लामा र धार्मिक नेता माथि आक्रमण गर्छन् । यो सबै क्रियाकलापले चीन र तिब्बती बीचको सम्बन्ध राम्रो बनाउँदैन । त्यसैले मलाई लाग्छ, यो चीनका लागि जटिल प्रश्न हो ।
