नेपालमा संघीयता, सांस्कृतिक अधिकारको बाँडफाँड, स्वायत्त अधिकारका विषयलाई लिएर चीन चिन्तित देखिन्छ

कोलम्बिया बिश्वबिद्यालयमा आधुनिक तिब्बत अध्ययनका निर्देशक रोवर्ट जे. बार्नेट त्यस्ता थोरै मान्छेमा पर्नुहुन्छ, जस्ले चीन, तिब्बत र यस्का छिमेकीहरुका बिषयमा गहिरो चासो र अतुल जानकारी राख्छन् । फागुन २ गते बौध्दमा एक भिक्षुले आत्मदाह गरेपछि नेपाल चीन सम्बन्धको चिसो र तातो अझै पनि चर्चामा छ । आधुनिक तिव्वतका अध्येता बार्नेट तिब्बतको कला र सँस्कृतिमा बढी चासो र जानकारी राख्छन् तर उन्को ज्ञान चीन र नेपाल सम्बन्धमा पनि त्यत्तिकै गहिरो छ । माघको अन्तिम सातातिर उनी काठमाडौमा थिए । एउटा चिसो बिहान  उनीसित मैले कफी खाँदै लामो कुरा गरे । त्यो कुरा तपाईलाई पनि रोचक लाग्न सक्छ ।

  • प्रोफेसर बार्नेट, तपाईं किन आधुनिक तिब्बतमा चासो राख्नुहुन्छ ? 

हाम्रा पश्चिमा संस्कृति हेर्ने हो र इण्डिया र चाइनाको कुरा गर्ने हो भने, यी सबै देशको चासो तिब्बतको संस्कृति, ऐतिहासिक पृष्ठभूमि र पुराना साहित्यमा छ । तर, मेरो कुरा अलि भिन्न छ । सन् १९८७ मा म नेपाल आउँदा, तिब्बत हुँदै आएको थिएँ । त्यसबेला, चाइनामा एकदमै रमाइलो, जीवन्त आधुनिक तिब्बती संस्कृति पुनः आगमन भएको थियो । ठूलो विध्वंशपछि फेरि आएको त्यो तिब्बति संस्कृति निक्कै पृथक थियो, चाइना, नेपाल र पहिलाको तिब्बतको भन्दा धेरै भिन्न ! त्यसको स्वरुप नै नौलो थियो । र, विश्वले बुझ्नुपर्ने महत्वपूर्ण कुरा चाहिं कसरी एउटा संस्कृति परिवर्तन हुन्छ र त्यसले आफ्नो नयाँ प्रकृति जन्माउँछ भन्ने हो ।

  • त्यसो भए, तपाई अझै पनि तिब्बत सम्बन्धि अनलाईन र आयोजनाहरु सञ्चालन गरिरहनुभएको छ ?

जब म १९८० को दशकमा नेपाल आएँ, मैले १०÷१५ वर्ष तिब्बत र तिब्बति बारे सूचना खोज्ने, समाचार संकलन गर्ने काम गरें जुन फरक र नयाँ काम थियो । तर, पछिल्लो १० वर्षदेखि म कोलम्बिया विश्वविद्यालयमा काम गरिरहेको छु । तिब्बतलाई पढ्न र बुझ्न शैक्षिक परियोजना तयार पारेको छु । सँगसँगै हामी समाचारको काम पनि गरिरहेका छौं । हामी, इतिहास, संस्कृति, राजनीतिक सम्बन्ध, सामाजिक प्रश्नहरु पनि पढ्ने गर्छौं ताकि विद्यार्थीहरुले बिभिन्न देशका मौलिकता बारे राम्ररी बुझुन् । समाचारमा काम गर्दा खालि सतहि कुरा मात्र नियाल्न सकिन्छ । तर, अहिले म तिब्बती संस्कृति, तिब्बतका नयाँ पुस्ताले तिब्बतमा रहेर कस्तो फिल्म बनाउँदैछन्, कस्तो चित्र कोर्दैछन्, कस्ता कथा लेख्दैछन्, आफ्नो वेभसाइटमा के विषयमा कुरा गर्दैछन्, चीनका नीति नियमले उनीहरुलाई के कस्तो प्रभाव पारेको छ, नेपाल, भारत र अमेरिकासँग उनीहरुको सम्बन्ध कस्तो छ लगायतका विषयमा लेख्दैछु ।

  • नेपाल भ्रमणका क्रममा तपाईंले धेरै मानिससित भेट्नु भयो । नेपालमा विगत ६० बर्षदेखि २० हजार भन्दा बढी तिब्बति शरणार्थीले शरण लिइरहेका छन् । कस्तो लाग्छ यो अवस्था तपाईंलाई ?

म शैक्षिक हिसाबले यहाँ कुनै मिटिङ्गका लागि आएको हैन । तर, यो अवस्था देख्दा र मैले पत्रपत्रिका पढेर बझेको कुरा भने, पहिलाको दाँजोमा अहिले नेपाल र तिब्बतिबीच राम्रो सम्बन्ध छ । साथै, अन्तर्राष्ट्रिय समुदायले पनि यस विषयमा चासो देखाइरहेको छ । नेपालमा चीनको भूमिका कस्तो होला भन्ने पनि धेरैका लागि चासोको विषय बनेको छ । नेपालका लागि चीनको भूमिका निक्कै फरक छ र रोचक छ । सामान्यतया हेर्ने हो भने, हरेक देशले अरु देशमा आफ्नो गतिविधि कस्तो छ भनेर चासो राख्छ । अरु देशको दाँजोमा चीनले नेपालमा अलि विशेष चासो राख्छ । नेपालमा चीन सरकार एकदमै सक्रिय देखिन्छ । तिब्बतीको अवस्था बारे माग राख्छ । अहिलेसम्म केही सरकारले यसलाई सिमित रुपमा नियालिरहेका छन् । तर, अन्य देशका सरकार र सञ्चार माध्यम र तिब्बतीहरु यो चासोलाई सिमित मान्दैनन् बरु यो चीनको राष्ट्रियता भन्दा भिन्न छ भनेर बुझ्छन् । मलाई लाग्छ, यस विषयमा धेरै छलफल भएका छन् । मेरो बुझाई अनुसार, तिब्बतीको अवस्थाबारे माग नगरेर र यो विषयलाई धेरै पर नलाने भनेर चीन एकदम सतर्क रहन खोजिरहेको छ । जब मैले चीनका केही विज्ञ र प्राज्ञहरुसँग कुरा गर्छु, उनीहरु भन्छन्, नेपालका लागि चीनको चासो सिमित छ । तर, तथ्य बुझ्ने हो भने सबैले भिन्नै तर्क दिन्छन् । त्यसकारण, यो गहन विषय हो जस्तो लाग्छ मलाई । हामीले पढ्नु पर्ने र बुझ्नु पर्ने विषय हो । नेपाली, चिनियाँ र तिब्बतीसँग छलफल गर्नुपर्ने विषय हो ।

  • त्यसो हो भने चीनको यो असिमित चासोको कारण चाहिं के होला त ?

एकदम राम्रो प्रश्न । मैले यस विषयमा यहाँ केहि व्यक्तिसँग कुरा गरें । उनीहरुका अनुसार चीनको सरकार, उस्को इतिहास र पृष्ठभूमि छोटो छ । साँस्कृतिक आधार पनि काँचो छ । त्यहाँ प्रजातन्त्र छैन, जसका कारण, उनीहरु वैधानिकताका बिषयमा चिन्ता गर्छन् । चीनको मुख्य चिन्ता उस्को आफ्नो स्थायित्व हो । नेपालमा हाल भैरहेका प्रजातन्त्रको बहस, संघीयता, खासगरि जातीय संघीयताको बहस विशेष गरी कम्यूनिष्टका लागि डरको बिषय भएको छ । चीन सोच्छ, यो विषय चीनको राष्ट्रियतासँग जोडिएको छ । मलाई लाग्छ, उनीहरु यो सबै हुन्छ भनेर डराउँछन् । किनकी, यो सबै हामीले नेपालमा भइरहेको देखेका छौं । त्यसकारण पनि चीन नेपालमा संघीयता, सांस्कृतिक अधिकारको बाँडफाँड, स्वायत्त अधिकारका विषयलाई लिएर चिन्तित देखिन्छ । यसमा पनि सबैभन्दा ठूलो डर चाहिं यो सबै नेपालमा रहेका तिब्बतिबाट भित्रिन्छ भन्ने छ । किनकी उस्ले तिब्बति शरणार्थीलाई गर्ने व्यवहार बुझ्न गाह्रो छ । उनीहरु दलाई लामा र धार्मिक नेता माथि आक्रमण गर्छन् । यो सबै क्रियाकलापले चीन र तिब्बती बीचको सम्बन्ध राम्रो बनाउँदैन । त्यसैले मलाई लाग्छ, यो चीनका लागि जटिल प्रश्न हो ।

Leave a Comment

Filed under Uncategorized

Under the shadow of Annapurna

On a year that the Annapurna Conservation Area Project (ACAP) should be celebrating the 25th anniversary of its exemplary work in eco-tourism and conservation, it has been given a death sentence by the government.

Last month, the Cabinet decided not to extend the management of ACAP by the Nepal Trust for Nature Conservation (NTNC), and gave the trust six months to find an alternative. This comes as the ACAP management finds itself in increasing confrontation with local populations over control of the region’s resources.

The Annapurna area stretches over five districts and 57 VDCs in central Nepal. The terrain rises from the sub-tropical Seti Valley at 800m above sea level to Annapurna and Dhaulagiri, among the top ten highest mountains in the world. It contains the Kali Gandaki gorge and Tilicho, one of the highest lakes in the world. These topographical extremes give the region some of the greatest bio-diversity found on the planet, with 474 species of birds, 1,200 types of fauna and exuberant plant life.

The Annapurnas get 100,000 trekkers a year and in the last 25 years has raised Rs 1.55 billion from visitor fees alone, this money and other donor support being ploughed directly into local development. Over the past two decades, ACAP has built 107 schools, 16 community health posts, 181 bridges, 28 micro-hydro projects and trained thousands of local people in the tourism industry.

ACA’s success rested on three pillars: the unique concept among young and committed Nepali environmental activists in the 80s that conservation was only possible through local participation, the full backing and patronage of the royal palace and resources that this could mobilise, and last but not least, the leadership and involvement of the local Gurung community. The pioneering role in ACAP of Chandra Gurung, who was born and bred in the area, was a major factor in its early success. Gurung’s trust in his community, and his community’s trust in him, was the vital ingredient in the success.

Chandra Gurung’s tragic death in the Ghunsa helicopter crash in 2006 was a big blow not just to the Annapurnas but also to the other conservation areas in Nepal where the ACAP model was being followed. The post-2006 political transition and turmoil also took its toll, and ACAP is now suffering from the same political interference and greed that has plagued other areas where Nepal has seen some progress.

In the absence of elected village and district councils, Nepal’s local government is in the hands of the three main political parties at the centre. Accountable to no one, driven by the party’s need to raise funds, political cadre have been using provisions in the local self-governance act to wrest control over natural resources from ACAP’s local Conservation Committees.

Last month the residents of Lwabanghale poured out their owes during a radio program. “Our crops are being destroyed by wild animals, we don’t get any compensation,” said one, “we can’t fish in our own streams, we can’t even pick deadwood from the forest, we can’t even pick ferns and bamboo shoots. If we can’t benefit from conservation what is the use?”

Such sentiments are a far cry from 25 years ago when locals were happy about ACAP’s conservation work. ACAP obviously needs to re-invent itself for a new age when there are roads everywhere, and new rules must be in line with the local self-governance laws and clearly define who has the authority over natural resource exploitation.

The DDCs and VDCs are now demanding that they get half of ACAP’s income from trekking fees. In the absence of charismatic leadership, ACAP began to lose out on the trust of the local people. Had local elections been held, this conflict would have been much more intense by now.

The problem now is that although the government has said ACAP should be handed over to someone other than NNTC by end-January, there is no one other entity on which the conservation achievements of the past can be trained and entrusted with the management of ACAP.

The only solution perhaps is to have better coordination between the Conservation Committees and the VDCs in all 57 villages, improve linkages between the District Development Committees to coordinate ACAP activities in all five districts. But it is unlikely this can be done in the next four months. So, the thing to be done is to let ACAP be managed by NNTC until a new mechanism can be found, and wait for a time when there is less political interference.

Leave a Comment

Filed under Uncategorized

जेलमा अझै “जंगबहादुर”

पन्ध्र सोह्र बर्ष अघि नेपालका जेल चाहर्ने सिलसिलामा धेरै कैदी र बन्दीसित भेटघाट र भलाकुसारी भयो । जेलमा भेटिएका धेरैमध्ये एकजना दुब्ला पातला कैदीको सम्झना अझै पनि मेरो दिमागमा ताजा छ । ज्यान मुद्दामा जेल परेका उनी त्यो बेला पूर्वी नेपालको एउटा जेलका चौकीदार थिए । जेलभित्र चौकीदार हुने अवसर खुंखार अपराधीले मात्र पाउँछन् । धेरै जेलमा माटोघाटो र पहलमान जस्ता कैदी मात्र चौकीदार भएको देखिन्थ्यो । त्यसैले, ती दुब्लो पातलो र ख्याउटे जीउका ती कैदी जेलका चौकीदार हुन् भनेर पत्याउन निकै घण्टा लाग्यो । तर, प्रहरीसित बजार जाने, घुमफिर गर्ने र प्रायःजसो समय जेल बाहिरै बिताउने उनको दिनचर्या र जेलभित्र उन्को हाँकडाँक देखेपछि उनी शक्तिशाली चौकीदार रहेछन् भन्न र मान्न करै लाग्यो । जेलभित्रै पनि उनको कमाई राम्रो थियो । महिनैपिच्छे उनी मोटो रकम घर पठाउँथे र जेलभित्र मनलाग्दी खर्च पनि गर्थे । जेलका कर्मचारी पनि उनीसित मित्रवत देखिन्थे । त्यो जेलमा चार पाँच दिन बस्दा उनीसित मेरो राम्रै चिनजान र मित्रता पनि भयो । उनी मलाई बेला बेलामा जेलभित्रैबाट पत्र पनि लेख्थे । ती पत्रमा आफु राजनीतिक प्रतिशोधको सिकार भएको कुरा लेख्न चुक्दैनथे ।
करीब ८ बर्ष अघि, एक दिन अचानक उनी बिराटनगरमा भेटिए । कैद भुक्तान गरेपछि जेलबाट छुटेछन् र पूर्वी नेपालको एउटा गाउँमा किराना पसल चलाउँदा रहेछन् । सामान्य भलाकुसारी र कुशल क्षेमपछि उन्ले कुरै कुरामा उन्ले धेरै राजनीतिक नेता र कार्यकर्ताको नाम लिए, जो उनीसितै जेल बसेका थिए, र चौकीदारको हैसियतमा उन्ले केहीलाई भक्कु चुटेका पनि थिए । त्यसो त जेलमा भेट हुँदा पनि पञ्चायतकालमा कांग्रेस र वाम नेतालाई जेलभित्र आफुले कसरी धुलाई गरियो भन्ने कुरा उनी बडो चाख मानेर सुनाउथे । जेलमुक्त भएपछि नेपालका त्यो बेलाका शक्तिशाली एक नेताको नामै लिएर भने “बुझ्नुभो, फलानो नेताको जीउ मिच्ने हो भने अहिले पनि मेरा लात्तिको धुलो झर्छ ।” घोप्टो पारेर आफुले लात्तीले भकुरेका तिनै नेताहरु सत्तामा पुगेपछि आफु सजाय मिनहामा नपरेको र आफु राजनीतिक प्रतिशोधको सिकार भएको किस्सा उन्ले यस्पालि झन उत्साहका साथ सुनाए ।

गम्भीर अपराध गरेर लामो समय कैदी जीवन बिताएका बन्दीले मात्र भाई नाईके, नाईके र चौकीदार हुने औसर पाउँछन् । जेलको हाकिम जेलर भए पनि चार पर्खालभित्र थुनिएका जो सुकैको ज्यान भाई नाईके, नाईके र चौकीदारको दयामायामा हुन्छ । पञ्चायतकालमा जेल कांग्रेस र एमालेका नेता र कार्यकर्ताका लागि डेरा जस्तै थिए । र, यसरी थुनिने नेता र कार्यकर्ता पटक पटक नाईके, भाई नाईके र चौकीदारको कोपभाजनमा पर्थे । त्यसैले, त्यसबेला कारागारलाई यातना गृह भनिन्थ्यो । प्रजातन्त्र आएपछि कारागारमा बस्नु नेता कार्यकर्ताको योग्यता ठान्न थालियो । जेल बसेका नेतामध्ये धेरैजना गृह मन्त्री भए र उनीहरुले कारागारलाई सुधार गृह भन्न थाले । तर, सुधार भने केही पनि गरेनन् । त्यसैले, आज पनि कारागारभित्र त्यस्तै अवस्था छ, जस्तो पञ्चायतकालमा थियो । आज पनि नेपालका कारागारहरु यातना गृह नै हुन् ।

जेलका अग्ला अग्ला पर्खालभित्र बाहिरको भन्दा भिन्न दुनियाँ छ, भिन्नै शासन व्यवस्था छ र शासन संचालन गर्ने काईदा पनि बाहिरको भन्दा फरक छ । चार बुर्जामा बसेर प्रहरीले पालो पहरा दिने अग्ला पर्खाल भित्रको दुनियाँमा जेलर र प्रहरीले कम र भाई नाईके, नाईके र चौकीदारले चाहेको जे पनि हुन्छ र नचाहेको केही पनि हुँदैन ।

जेल सबैले बिर्सने र बिर्सन चाहने ठाउँ हो । नेपालमा एकपल्ट वा धेरैपल्ट जेल बसेका धेरै मान्छे एकपल्ट वा धेरैपल्ट ठूल्ठूला ओहदामा पुगे । सत्ता र शक्तिको अभ्यास गरे, कसैले प्रजातन्त्रका नाममा, कसैले लोकतन्त्रका नाममा र कसैले गणतन्त्रको नाममा पनि । तर, ती धेरैले वा सबैले जेल बिर्से । त्यसैले, राणाकालमा स्थापना भएका नेपालका जेलमा अहिले पनि जंगबहादुरकै शासन चल्छ ।

Leave a Comment

Filed under Uncategorized

माओवादीः रोटी खस्रा मिठा, कुरा चिल्ला मिठा

चिल्लो पारेर कोरेको कपाल र क्रिज मिलेको सुटमा चिटिक्क परेर निस्कदा पनि आजकाल एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको अनुहारमा कुनै चमक र रौनक देखिदैन । सार्वजनिक समारोहमा धेरै समयसम्म उन्को मुण्टो लर्किएको र अनुहार फुंग उडेको देखिन्छ । कहिले उनी औधि बिनयशील मुद्रामा प्रतिपक्षी समकक्षीलाई फकाएर बोल्छन् र कहिले अति क्रोधमा तल्लो स्तरका गालीगलौज गर्छन् । यस्ता लक्षणलाई मनोचिकित्सकले कसरी बिश्लेषण गर्छन् कुन्नि ! तर, लामो समयदेखि टेलिभिजनमा देखिदै आएका र पहिलेदेखि नै बोली र व्यबहारमा सन्तुलन नभएका प्रचण्डको मनोदशा आजकाल झनै असन्तुलित देखिन थालेको छ ।

यस्ता असन्तुलित र दोधारेपन बामपन्थी आन्दोलनमा नौला बिषय भने होईनन् । मोहन बिक्रमका प्रेम कथा र सी.पी. मैनालीका साहसका गाथा सुन्दै र पुराना र फाटेका तर सफा लुगा लगाएर साँझ बिहान बिराटनगरको तीनटोलियामा टहलिदै गरेका मनमोहन अधिकारीलाई हेर्दै हुर्केको म जस्ता मान्छेका लागि प्रचण्डको यो भावभंगिमा न अनौठो लाग्छ, न त आश्चर्यजनक र चमत्कारिक । जान्न मन लागेको कुरो कति मात्रै हो भने यो भावभंगिमा कुमालेको चत्र झै घुमिरहने समयले ल्याएको हो वा प्रचण्ड आफैले आफुलाई यो भुमरीमा धकेलेका हुन् । अथवा उन्ले आफ्नो अर्को कुनै कला वा चमत्कार पो देखाउने तयारी गर्दैछन् कि !
सार्वजनिक भएपछि मुलुकले प्रचण्डका धेरै अनुहार र भागभंगिमा देख्यो । तर, संविधानसभाका नाममा पैतालिस दिने तर्पण दिने बेला नजिकिदै जाँदा उन्का भागभंगिमा अचम्मैले फेरिएका छन् । कुनै बिमारी बिना अचानक मारिएको संविधान सभाको शोक संभवतः प्रचण्डका अनुहारमा सबैभन्दा बढि देखिन्छ । आजसम्म कसैले नबिर्सेको कुरा के हो भने, जेठ १४ गते संविधान सभाको सचिवालयमा नयाँ सविधानको मस्यौदा तयार थियो, त्यसमा केही शब्द मात्र खालि थिए, जुन सहमति भएपछि भर्ने तयारी थियो । राष्ट्रपति भवनमा नयाँ संविधान घोषणामा उपस्थित हुने निम्तो बाड्ने कार्ड तयार थिए, तिनमा संविधान घोषणाको समय र निम्तालुको नाम मात्र लेख्न बाँकी थियो । सभासदहरु १० दिन अघिदेखि नयाँ संविधान हात पार्न, पढ्न र त्यसमा सहमति जनाउन वा भोट हाल्न तयार थिए । जनजातिले एकलबाट बहु पहिचानमा जान र कांग्रेस एमालेले १४ वटा प्रदेशमा जान सहमति जनाई सकेका थिए । प्रष्टै थियो, प्रचण्डलेले चाहेको भए जेठ १४ गते पुरै र सग्लो संविधान आउन केहीले रोकेको थिएन । संक्षिप्त संविधान ल्याउन झन् कसैले पनि कुनै बाधा र अवरोध गरेको थिएन । तर संविधान आउने बेला त्यसको मृत्यू आयो । र, संविधानसभाको चितामा नेपालमा अहिलेसम्मका सबैभन्दा बिद्वान प्रधानमन्त्री बाबुराम भट्टराईले दागबत्ती दिए, जस्का लागि उनी आफै १० बर्ष लडेको र हजारौलाई मृत्युसैयामा पु¥याएकोमा गर्व गर्छन् । त्यो दागबत्ती दिन आगो, घिउ र दाउरा प्रचण्ड आफैले बर्षौ र हप्तौ अघिदेखि बटुलेका थिए ।
त्यसो त आगो, दाउरा र घिउ नेपालमा चिल्ला सेलरोटी पकाउन प्रयोग गरिन्छन् । त्यसैले त नेपाली उखानले भन्छ, रोटी चिल्ला मिठा, कुरा खस्रा मिठा ! तर, माओवादीका हकमा यो उखान उल्टोतिरबाट मात्रै मिल्छ । अथवा रोटी खस्रा मिठा, कुरा चिल्ला मिठा । कुरा चिल्ला र काम खस्रा गर्ने माओवादीको मूल बिशेषता हो । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको दिनदेखि आजसम्म माओवादीको चिल्ला कुरामा धेरै चिप्लिए । कुरा जति चिल्ला गरे पनि कामका हिसावले माओवादी नेपालमा एकपल्ट अधिनायकवादी सत्ताको अभ्यास गर्न दत्तचित्तले लागेको लाग्यै छ । नेपाली समाजको प्रगति र उन्नतिका धेरै सिढीहरु भंग भए पनि जनयुध्द शुरु गर्नु अघि उस्ले अपनाएको यो रणनीति निरन्तर छ । संविधान सभाको अकाल मरण र नयाँ संविधानसभाको निर्वाचन घोषणा अधिनायकत्वमा जाने सबैभन्दा पछिल्लो र ठूलो फड्को हो । यो फड्को पार गर्न माओवादीलाई धौ धौ परेकाले प्रचण्डको अनुहारमा उपस्थित तनावलाई कपालको तेल र लुगाको क्रिजले रोक्न नसकेको हो भन्ने प्रष्टै बुझ्न सकिन्छ । आफ्नो अधिनायकत्व स्थापना गर्न बाधक हुने र आम मानिसले पत्याएका सबैखाले संघ, संस्था र संरचना भत्काउदै जाने माओवादीको रणनीति, जस्को शुरुआत ०५२ सालको फागुन १ गतेकै दिनदेखि शुरु भएको थियो, अहिले सबैभन्दा अप्ठेरो कालखण्डबाट गुज्रदैछ ।
जनयुध्द शुरु भएका दिन गोरखाको साना किसान विकास आयोजनामा भएको आक्रमण यो रणनीतिको पहिलो परिक्षण थियो । भन्न आबश्यक छैन, त्यो बेला नेपाली गरिब किसानले सबैभन्दा बढी बिश्वास गरेका संस्था साना किसान विकास आयोजना नै थिए । जस्ले, साहुबाट चर्को व्याजमा सापटी लिनुपर्ने बाध्यताबाट किसानलाई मुक्त गरी किसानको आत्मबल बढाएका थिए । गाउँ गाउँसम्म फैलिएका साना किसान आयोजना र गाउँका सहकारी माओवादीको पहिलो निसानामा परि सकिए । त्यसपछि, गाउँघरमा जन्म, मृत्यु, नागरिकता र गाउँलेलाई सेवा दिने गाविसहरु माओवादीका निसाना भए । त्यसपछि गाउँका प्रहरी चौकी खालि भए । यी निशानाहरु आफ्नो अधिनायकत्व स्थापना गर्न र पछि सञ्चालन गर्न बाधक हुने संरचनाहरु भत्काउँदै जाने रणनीतिका अंग थिए । यही रणनीति लागू गर्दै जाँदा माओवादीले प्रजातन्त्रको अभ्यास गर्ने र आम मानिसलाई सेवा दिने लगभग सबै संस्थाहरुलाई पंगु बनाउँदै लग्यो । यसरी खालि भएको ठाउँमा आफ्ना संघ, संस्था र समर्थन गर्ने संघसंस्थाहरु खडा गर्दै गयो, जुन अधिनाकत्व स्थापना र सञ्चालन गर्न आबश्यक थिए र छन् ।
ढाडमा टेकेर टाउकोमा हान्ने रणनीतिमा माओवादीले कांग्रेस र एमालेलाई ढाड बनायो । उनीहरु माओवादीका ढाड मात्र भएनन्, ढाल नै भैदिए । सहमति, सहमति र सहमतिका नाममा आफ्नो अधिनायकत्व खडा गर्ने नियत पूरा गर्न कांग्रेस र एमालेरुपी ढाललाई अघि सारेर उस्ले ज्ञानेन्द्रलाई बेवकुफ बनायो र जनताको लागि समेत पिलो हुनथालेको राजतन्त्र नेपालबाट बिदा भयो । त्यसपछिका घटना सबैको सम्झनामा बाँकी हुनुपर्छ । सहमतिका नाममा रोटी जस्ता चिल्ला कुरामा प्रतिपक्षीलाई निरन्तर अलमल्याउने र आफ्नो अधिनायकत्व खडा गर्ने खस्रो काम गर्दै जाने रणनीति अन्तर्गत उस्ले संविधानका विवाद मिलाए जस्तो ग¥यो, तर मिल्न दिएन । संविधानसभा उस्को रणनीति मात्र थियो । संविधान माओवादीलाई चाहिएको थिएन, र अझै पनि चाहिएको छैन । किनभने, मुलुकलाई माओवादी अधिनायकत्वमा लैजानबाट रोक्न सक्ने अदालत, सञ्चार गृह, राष्ट्रिय सेना जस्ता केही संस्थाहरु अझै पनि पंगु भैसकेका छैनन् । तिनलाई पंगु बनाउन र प्रजातान्त्रिक अभ्यासमा जाने बाटाहरु बन्द गर्नु उस्को अहिलेको रणनीति हो । संविधान सभाको बिघटन गर्नु पूर्व जनजातिको आन्दोलनमा छानी छानी पत्रकार पिटेर, पत्रकारका मोटर साईकल जलाएर अनि, सञ्चार माध्यमका गाडीमा आगो लगाएर आफ्नो अधिनायकत्व स्थापना गर्न र टिकाउन, सञ्चार माध्यमको नियन्त्रण गर्न सकिन्छ कि सकिदैन भन्ने परिक्षण ग¥यो माओवादीले । मिडिया बिरोधीको अपजस पनि लिन नपर्ने र अधिनाकत्वको अभ्यासमा खतरा ठानिएको मिडियाको हैसियत पनि बुझ्ने माओवादी दाउ थियो त्यो आक्रमण । यी तमाम घटना र संविधान सभाको बिघटनपछि माओवादी अहिले बजेट र अध्यादेशका बिषयमा राष्ट्रपति कार्यालयलाई कमजोर पार्ने रणनीतिमा लागेको छ भने अधिनायकत्व स्थापनाका लागि संघीयता पक्षधरबीच मोर्चा बनाउन थालेको छ ।
माओवादीलाई उपयोग र दुरुपयोग गर्दै आएका कांग्रेस र एमालेले माओवादीको यो रणनीतिलाई पहिले आप्mना बिरोधीलाई सिध्याउन प्रयोग गरे । माओवादी मुलधारमा आएपछि उसैका प्रतिपक्षी भएका कांग्रेस र एमाले अधिनायकवादको माओवादी रणनीतिक यात्रा रोक्न असफल भएका छन् । तर डेढ दशक लामो यो रणनीतिलाई निरन्तरता दिन माओवादीलाई पनि अब पहिले जस्तो सजिलो छैन । संसारकै आर्थिक शक्ति भैसकेको र अधिनायकवादी शासन शैलीमा बिश्वास गर्ने उत्तरको छिमेकीले जातीय संघीयतामा नजान दिएको सल्लाह र सन्देश अनि जातीय संघीयतामा नजाँदासम्म ग्रेटर नेपालको भयले सताईरहने दक्षिणको संसारकै सबैभन्दा ठूलो लोकतान्त्रिक छिमेकीको सल्लाह र सन्देशबीच माओवादी रणनीति अहिले अन्यौलमा परेको छ । संविधान सभा आफ्नो महात्वाकांक्षाको सिकार भएपछि देशभित्र खस्किदै गरेको आफ्नो छविको चिन्ता, समकक्षीहरुको बढ्दो अविश्वास, पार्टीभित्र भैरहेका घात र प्रतिघात, अनि उत्तर र दक्षिणका छिमेकीका चाहना, आकांक्षा र दवावबीच रणनीतिक तालमेल मिलाउन नसकेर माओवादी अध्यक्ष प्रचण्ड थाकेका छन् । उन्का चिल्ला कुरामा चिप्लिने मानिस घटेका छन र खस्रा कामको मूल्यांकन गर्ने बढेका छन् । यो सत्यले आफैलाई पोल्न थालेपछि भित्रभित्रै थाकेका प्रचण्डको थकाईलाई तेल, जेल र चिटिक्क परेका लुगाले छोप्न नसक्ने गरि थिचेको छ, र उन्को अनुहारको चमक फिक्का र जीउको फुर्ति हराएको देखिन्छ ।

Leave a Comment

Filed under Uncategorized

खैरो, कालो र सेतो बाटो

प्रलाद योञ्जन नेपालका यस्ता जीव बैज्ञानिक थिए, जो देशमा कम र विदेशमा बढी, अनि नामले कम र कामले ज्यादा चिनिन्थे । उनी चुपचाप काम गर्न रुचाउने मानिस थिए र सकेसम्म प्रचार प्रसारको दुनियाँबाट टाढै रहन मन पराउँथे । रेड पाण्डामा पिएचडी र दुई दुई बिषयमा एम.एस्सी गरेका उनी आफनो नामको अगाडि डाक्टर लेख्दैनथे । नेपालमा उन्को नाम चितवन राष्ट्रिय निकुञ्जमा सन् १९९४ मा संसारकै दुर्लभ एकसिंगे गैडा गन्ती गरेपछि चल्न थालेको हो । त्यसैताका नेपाल सरकारले जर्मनीलाई गैडा उपहार दिने निर्णय गरेको थियो । त्यो निर्णय किन गलत छ भनेर उनी खुलेर बिरोधमा उत्रेपछि नेपाली पत्रकारले उनलाई चिनेका हुन् । अनुसन्धान, तथ्य र तर्कमा आधारित खरो बिचार उन्को बिशेषता थियो । संसारको जुनसुकै देश र कुनामा काम गरे पनि नेपालको हित र नेपालीपन उनको अर्को बिशेषता थियो ।
नेपालमा पहिलोपल्ट एक नेपालीको नेतृत्वमा गैडा गन्ती हुने भएपछि बिबिसीले त्यसको छायांकन गर्न चाहेको थियो । आरक्ष तथा निकुञ्जहरुमा भिडियो छायांकन गर्न कुनै पनि बिदेशी संस्थाले नेपाल सरकारलाई १० हजार डलर शुल्क तिर्नुपर्छ । त्यसबाहेक हात्ती तथा अन्य साधन प्रयोग गरेको शुल्क बेग्लै ! त्यसबेला डा. उदय शर्मा निकुञ्ज बिभागका प्रमुख थिए । डा. शर्मा बिबिसीलाई छायांकन गर्न अनुमति दिन चाहान्थे, तर प्रलाद मानेनन् । कारण, बिबिसीको टोलीले छायांकन गर्दा आफ्नो अनुसन्धान प्रभावित हुनसक्छ, उनीहरुले रिटेक गरिदिनु प¥यो भन्छन् । उनीहरुको अनुकुल ठाउँमा टेण्ट गाडि दिनुपर्छ । र, उनीहरुले भनेका कुरा मान्दा आफ्नो काम लम्बिन्छ र प्रभावित हुन्छ भन्ने उन्को मूल्यांकन थियो । त्यसैले, डा. शर्माले चाहेर पनि प्रलादले नचाहेका कारण बिबिसीले गैडा गन्तीको छायांकन गर्न अनुमति पाएन ।
तर, नेपाली बिशेषज्ञले गरेको पहिलो गैडागन्ती छायांकन हुनु आफैमा महत्वपूर्ण हो भन्ने मलाई लाग्यो । मैले प्रलादलाई भने, तपाईको पिरलो म बुझ्छु, त्यसैले, मलाई छायांकन गर्न अनुमति दिनोस् । हामी तपाईले जे गर्नुहुन्छ, त्यो मात्र खिच्छौं । तपाईको काममा कुनै असर पार्दैनौं । धेरै समय नलगाई उन्ले भने “उदयलाई मनाएर चितवन आउनोस्, तर मेरो कुनै पनि काममा दखल दिन पाउनुहुन्न !” नेपाल वातावरण पत्रकार समूहको तर्फबाट गैडा गन्तीको छायांकन गर्न निकुञ्ज विभागमा निवेदन दर्ता भएपछि डा. उदय शर्मा हैरान र अलि आक्रोसित हुनु स्वाभाविक थियो । निकुञ्जले बिबिसीबाट पाउने १० हजार डलर गुमाएको बेला निशुल्क अनुमति दिन उन्ले अप्ठेरो मान्नु स्वाभाविक थियो । हामीले स्वीकृति पाएनौं । निकुञ्जको स्वीकृति बिना छायांकन गर्नु र त्यसका लागि चाहिने हात्तीको जोहो गर्नु संभव थिएन । त्यसैले, चितवन जान लागेका प्रलादलाई हतारमा भेटेर मैले फेरि छायांकन, हात्ती र अरु आवश्यक सहयोग मागे । धेरैबेर घोरिएपछि उन्ले भने “क्यामेरा बोकेर नारायणी नदीको किनारमा आउनोस् ! उदयसँग मै कुरा गरौंला !”
संयोग कस्तो भने हामी र डा. उदय शर्मा चितवनको जंगलमा पुग्ने दिन र समय उस्तै प¥यो । उदयले हामीलाई देखेर अप्ठेरो माने । हामीले पनि असजिलो मान्यौं, तर काम शुरु नहुँदै छायांकन टोलीका हामीलाई (धु्रव बस्नेत, अनिल महर्जन, केदार शर्मा म) ठूलो युध्द जितेको अनुभव हुनथालेको थियो । कसराछेउमा पर्खिरहेका हात्ती चढेर हामी नारायणी किनारमा पुग्यौं, जहाँ प्रलादको क्याम्प थियो । जंगलको बीचमा पन्ध्रवटा हात्ती, ३० जना हात्तीसारे र १० जनाको गणक टोली थियो । बिहान ५ बजे हात्तीमा चढेर एउटा तातो अण्डा खाएका भरमा ११ बजेसम्म १५ वटा हात्तीको लस्कर अघि बढ्थ्यो र हात्तीको बिचमा परेका गैडाको दाँया र बाँया दुबैतिरबाट तिन्को मार्किंङ्ग हुन्थ्यो । ११ बजे क्याम्पमा आएर खाना खाएपछि उनी झण्डै ५ बजेसम्म हरेक गणकका फारम चेक गर्थे र भोलिपल्टको योजना बनाउँथे । विहानैदेखि हौदा बिनाको हात्तीमा लच्किँदा हाम्रा बस्ने ठाउँमा सात दिनमा घाउ भए । तर, उनलाई यो काम गर्न डेढ महिना लाग्यो । छायांकन अवधिभर उन्ले क्यामेरा र साउण्डका लागि एउटा सिंगो हात्ती दिए । हामी २ जनालाई गणकका हात्तीमा राखेर गैडा गन्ती हेर्न, जंगलमा खाने र बस्ने व्यवस्था पनि उनैले गरेका थिए । बिभागले नदिँदा नदिदै पनि उन्ले हामीलाई किन पत्याए भनेर कुरा हुँदा पछि उन्ले मलाई भने “नेपालीले गरेको काम नेपालीले नै रेकर्ड गर्ने भएकाले !”
नेपालको संरक्षण क्षेत्रमा भित्रभित्रै धेरै राम्रा नराम्रा काम हुन्छन् भन्ने कुरा थोरै मानिसलाई मात्र थाहा हुन्छ । प्रलाद यो कुरा राम्ररी बुझ्थे र बिदेशमा जहाँ काम गर्दा पनि देशका सबै गतिविधि नियाल्थे । अनुसन्धानको काममा भुटानको जंगलमै रमाइरहेका प्रलाद एकपल्ट अचानक काठमाडौंमा देखिए । “एउटाले बोलाएर आएको, एक दुई दिनमै फर्किन्छु” मैले सोधीखोजी गर्दा उन्ले भने । त्यो भन्दा बढी केही भनेनन् । त्यो बेला नेपालका पत्रपत्रिकामा पशुपतिका बाँदरबारे एउटा खबर छ्याप्छ्याप्ती थियो । नेपालबाट अमेरिका बाँदर निर्यात गर्ने तयारी भैरहेको थियो । केही दिनपछि प्रलाद अनुसन्धानकै काममा भुटान फिरे । बाँदर अमेरिका पठाउने सरकारी निर्णय पनि सानोतिनो विवादपछि रोकियो । भुटानमा काम सकेर फर्केपछि उन्ले करीब दुई पन्नाको कागज देखाए, जस्मा उन्ले नेपालबाट अनुसन्धानका लागि अमेरिकामा बाँदर पठाउन हुन्छ किन हुँदैन भन्ने कुरा बिश्लेषण गरेका थिए । बाँदर निर्यात गर्ने कुराले विवाद भएपछि राजा ज्ञानेन्द्रले प्रलादको राय खोजेका रहेछन् । त्यही राय दिन उनी काठमाडौ आएका रहेछन् । ज्ञानेन्द्र प्रलादका कुरा सुन्थे । आफु चाकरी नगर्ने भएकाले ज्ञानेन्द्रले मन पराउँदैनन् भन्ने कुरा प्रलादलाई थाहा थियो । तर, उनी राजा र राजपरिवारसित धेरै टाढा हुन चाहदैनथे ।
२०४७ सालमा प्रजातन्त्र पुनस्थापनापछिको नेपालमा वन, बन्यजन्तु र संरक्षण क्षेत्रबारे धेरै कुरा सतहमा आउन थाले । त्यस्तै मध्येका थिए नेपालबाट दुईटा गैडा जर्मनीलाई उपहार दिने र बर्दिया राष्ट्रिय निकुञ्जभित्र अमेरिकी लगानीमा ठूलो होटल खोल्ने कुरा । जर्मनीलाई दुईटा गैडा उपहार दिने निर्णय गर्दा प्रति गैडा १ लाख ८० हजार शुल्क लिने निर्णय पनि सँगै गरिएको थियो । त्यो रकम कहाँ गयो भनेर पत्रपत्रिकामा सत्यतथ्य प्रकाशित हुन थालेपछि तत्कालिन महेन्द्र प्रकृति संरक्षण कोषका सदस्य सचिब स्वर्गीय डा. चन्द्र गुरुङ्ग पूर्व राजा ज्ञानेन्द्रको कोपभाजनमा परे । चन्द्रले पत्रकारलाई ढाट्न सकेनन्, तर सो रकम तत्कालिन अधिराजकुमार ज्ञानेन्द्रले खर्च गरेको प्रष्ट जवाफ दिन आँट पनि गरेनन् । नेपाली गैडा उपहार दिएर पाएको रकम पारदर्शी हुनुपर्छ र गैडा संरक्षणमै खर्च गर्नुपर्छ भन्ने आफ्नो अडानका कारण प्रलाद त्यो बेला जीव बैज्ञानिकको सर्कलमा अति कडा स्वाभावको भनेर चिनिन्थे । वीरमणि ढकाल बनमन्त्री हुँदा बर्दियाको जंगलभित्र ठूलो होटल खोल्ने पुरानो फाईल अति तिब्र गतिमा दौडिन थाल्यो । विदेशी ब्यापारीको लगानीमा पैसाको ठूलो चलखेलसँगै यो काममा केही बिशेषज्ञ र नेपाली व्यापारी लागेका थिए । उच्च पदस्थ कर्मचारी अनुमति दिने कि नदिनेमा बाँडिएका थिए र निकुञ्जको सबैभन्दा बढी बाघ पाईने ठाउँमा होटल खोल्न दिनु हुँदैन भन्ने कर्मचारी र बिशेषज्ञको स्वर कमजोर भैरहेको थियो । अनुमति रोक्न मुस्किल हुनथालेपछि र मन्त्रालयका कर्मचारी र दरवारले पनि रोक्न नसकेपछि प्रलादले ईआईए अथवा वातावरणीय प्रभाव अध्ययनको डकुमेण्ट अघि सारेर पत्रपत्रिका मार्फत यस्ता तर्क र तथ्यहरु पेश गरे, त्यो फाईल कहिल्यै अघि बढेन ।
उनी राजनीतिबारे निकै चासो राख्थे, तर नेता र राजनीतिक दलहरु जिम्मेवार भएनन् भन्ने गुनासो गर्न पनि चुक्दैनथे । राजनीतिका कुरा पनि उन्लाई कालो र सेतोमा गर्नु पथ्र्यो, कुनै पनि खैरो कुरा र व्यवहारमा उनको रुची थिएन । २०६६ साल भदौ महिनामा जल, जमीन, जंगल र संघीयताबारे रेडियो अन्तर्वार्तामा उन्ले भने पनि “हाम्रो देशको राजनीति अझै खैरो राजमार्गबाट अघि बढ्दैछ, तर हामी चाहान्छौं यो खैरो कमजोर होस् ! खैरो बाटो छोडेर नेताहरुले अब कालो र सेतो समाउनुपर्छ । त्यसपछि मात्रै हाम्रो विकास शुरु हुन्छ !”

1 Comment

Filed under Uncategorized

प्रलाद योञ्जन: एकदम दुर्लभ मान्छे !

“बुझ्नुभो, काल पनि छक्किँदो रछ !” पाँच छ महिनाअघि एकदिन डा. योञ्जनले डा.पीताम्बर शर्माको नाडी देखाउँदै भने । शर्माको नाडीमा हल्का नीलो दाग थियो, जहाँबाट मुटुको ब्लकेज खोल्न प्लाष्टिकको पाईप पठाईएको थियो । डा. शर्माको मुटुमा बिना कुनै लक्षण फेला परेको ब्लकेज र त्यसको तत्काल निदानपछिको कुराकानी थियो त्यो । तर, डा. प्रलाद योञ्जनको हकमा काल छक्किएन, बरु प्रलादको मृत्युले हामी सबैलाई छक्यायो । “बर्वाद भो गुरागाईजी !” डा. पीताम्बर शर्माले कात्तिक १४ गते साँझ डुबेको स्वरमा फोनमा भन्नुभो । भन्नका लागि न उहाँसँग थप शब्द थिए, न सोध्नका लागि मसित ।
“बुढा सूत्रमा कुरा गर्छन्, तर यत्तिको गहिरो कुरा गर्ने मान्छे नेपालमा अब को छ र !” बैठक सकिएको भोलिपल्ट ठूला दुईटा मगमा बोकर ल्याएका कफी सुकिलो टेवलमा राख्दै डा. योञ्जनले मसित भने “बुढोको कुराले मलाई त छोयो, बुझ्नु भो !” डा. योञ्जन सबैलाई सर भन्थे । आफुले आदर गर्ने मानिसलाई बुढा भन्थे । अलि धेरै आदर गर्नुप¥यो भने बुढाबाट बुढोमा पुग्थे । तर, उन्का “बुढो” थोरै थिए । उन्ले “बुढो” भनेर आत्मीय र आदर गर्ने मैले थाहा पाएका पहिलो मान्छे थिए डा. कीर्तिमान तामाङ्ग, दोस्रा डा. हर्क गुरुङ्ग थिए । त्यसदिन मैले थाहा पाए डा. शर्मालाई प्रलाद कति आदर गर्दा रहेछन् । डा. शर्माले रिसोर्सेस हिमालयको बोर्ड बैठकमा दिएको अध्यक्षीय मन्तब्यले सबैलाई छोएको थियो । “संस्था स्थीर हुँदैन, संस्थामा स्थीरता भो भने त्यो अधोगतिको लक्षण हो !” डा. शर्माको मन्तव्यको सार थियो “घर, जग्गा, साधन र विज्ञहरुको विश्वासको यत्रो जग भएको संस्थालाई गतिशील बनाउनुपर्छ ।” डा. योञ्जनले चाहेको कुरा पनि यही थियो । आफै ठूलो संस्था भैसकेका डा. योञ्जन आफ्नो बल, बुध्दि र कमाईको नीजि संस्थामा रहेको सम्पूर्ण सम्पति रिसोर्सेस हिमालय फाउण्डेसनलाई दान गरेर संस्थाको घर बनाई सकेपछि पछिल्लो समय संस्थालाई ब्यवस्थित र संस्थागत गर्न दत्तचित्त थिए ।
डा. योञ्जनसित मेरा भेटघाट र चिनजान भएको २० बर्ष बितेछ । वन्यजन्तुका बिषयमा लेख्न थालेपछि मैले योञ्जनलाई बाघ बिशेषज्ञका रुपमा चिने । बाघको आनीबानी अध्ययन गर्दै जाँदा र डा. योञ्जनसित नजिकिदै जाँदा मलाई डा. योञ्जन पनि बाघजस्तै लाग्थे । बाघ झै उनी जहाँ पनि हुंकार्ने क्षमता राख्थे । उनको हुंकार अनुसन्धान, अनुसन्धानसित मिसिएर आउने ज्ञान, तथ्य र तर्कमा आधारित हुन्थ्यो । भित्र उकुसमुकुस भैरहेका तथ्य, ज्ञान र अनुभवका धेरै अंग्रेजी र थोरै नेपाली शब्द उन्को जिब्रोबाट लट्टे पड्के जसरी निस्कन्थे । तथ्य, तर्क र सन्दर्भ सहित बोल्ने उनका कुरा सुन्दा मेरो मनले आफैसित भनिराख्थ्यो “यो मान्छेले पनि बाघले जस्तै अनुसन्धानको क्षेत्रमा आफ्नो “टेरीटोरी” बनाएको छ, जहाँ अर्को बाघ कि त ज्यानको माया मारेर मात्रै पस्ने आँट गर्छ, या त अनुसन्धानको उन्को “टेरीटोरी”मा पस्ने आँट गर्दै गर्दैन ।” सही हो कि गलत, मलाई थाहा छैन, तर झण्डै २० बर्ष अघि डा. योञ्जनप्रति बनेको त्यो धारणा फेर्नुपर्छ जस्तो मलाई आज पनि लाग्दैन ।
मलाई उनी बाघ जस्तो लाग्ने आफ्नै खालका कारणहरु पनि थिए । उन्ले आफ्नो पहिलो अनुसन्धान पाटेबाघमा गरेका थिए । संसारकै पहिलो बाघ बिशेषज्ञ डा. कीर्तिमान तामाङ्गको नेतृत्वमा ५ बर्ष जंगलमै बसेर अनुसन्धान गरेपछि कीर्तिमान देश बाहिरै बसे । कीर्तिमान बाहेक नेपालमा बाघको गहिरो जानकारी राख्ने बिज्ञ प्रलाद मात्रै थिए । तेस्माथि, गुरुले थालेको कामलाई प्रलादले सधै जारी राखे । अनि बिदेशमा बसेका गुरु कीर्तिमानलाई नेपालका बाघको बारेमा सधै अपडेट राखे । तिथिमिति त विर्से, तर झण्डै १२ बर्षअघि चितवन टाईगर टपमा भएको बाघविज्ञको बिश्व सम्मेलनमा डा. कीर्तिमान पनि आए । डा. योञ्जन सम्मेलनभर गुरुसितै रहे । प्रलादको “बुढो” गुरु आफ्नो तन्नेरी चेलोको कुरा यस्तो मग्न भएर सुन्थे, मलाई अनौठो लाग्थ्यो । रेडपाण्डामा संसारको पहिलो बिद्यावारिधि गरेपछि पनि योञ्जनको बाघमोह कहिल्यै कम भएन । बाघ ३ हजार मिटरमाथि पनि पाईन्छ भन्ने तथ्य प्रमाणित गर्ने संसारको पहिलो बैज्ञानिक पनि प्रलाद नै भए । उन्को जीउ पनि बाघ जस्तै फुर्तिलो लाग्थ्यो मलाई । त्यसमाथि, मसँग कुराकानीमा होस् या गफमा बाघको प्रसंग आईराख्थ्यो । एकदिन त रमाईलै भयो । नेपालमा मोवाईल भित्रिएको केही समयपछि मैले बडो दुखले मोवाईल किने । केही दिन नबित्दै मोवाईलमा एकदिन अचानक चिनेको नम्बर देखा प¥यो “गोपाल सर हो ?” डाक्टरको स्वर चिन्न मलाई बेर लागेन । नमस्कार भन्न नपाउँदै उत्ताबाट प्रलादको फुर्तिलो स्वर आयो “लौ है गोपाल सर ! आजदेखि शहरको एउटा बाघलाई पनि मेरो रेडियो कलर लाग्यो !” संभवतः यी सबै कुराले म बाघलाई र प्रलादलाई उस्तै उस्तै ठान्थे ।
मैले चिनेताका उनी पत्रकारसित टाढा रहन मन पराउँथे । मसँग कुरा गर्दा शुरुका दिनहरुमा उनी सतर्क हुन्थे । तर, बन्यजन्तुका बिषयमा मैले लेखेको पढ्न थालेपछि संभवतः उन्को मप्रतिको धारणा फेरियो । चिनजानको लगभग ३ बर्षपछि एकदिन कफी चुस्क्याएर बसेका बेला भने पनि “न बिषय बुझ्छन्, न अनुसन्धानको कुरा, पत्रकारसित किन कुरा गर्ने, के कुरा गर्ने ?”
यी सबै हुँदाहुँदै पनि डा. प्रलादसित कुरा गर्न, भेट्न र कफी खाँदै घण्टौ गफिन मलाई अरुको तुलनामा अतुलनीय सुविधा थियो । उनी मेरा औपचारिक गुरु थिएनन् । म उन्को विषयको ज्ञाता थिईन र छैन । राजनीतिक रुपले हामी एउटा विचारका पनि थिएनौं । त्यसैले मलाई उनीसत सोध्न, भन्न र गफिन कुनै धक थिएन, बरु सुविधा थियो । पछि यो बानी भयो, उनको पनि, मेरो पनि । समय नलिई मैले कहिल्यै उन्लाई भेटिन । मलाई फोन नगरि उनी कहिल्यै मकहाँ आएनन्, जब कि हरेक बिहान उनी मेरै अफिसको गेटबाट साईकलमा अफिस आउँथे । काम नपरि कतै नजाने बानी थियो शायद । प्रलादले फोन गर्दा म पुलकित हुन्थे । उनी आएपछि हाम्रो अफिस पुरै पुलकित हुन्थ्यो । समाचार लेखिरहेका, अन्तर्वार्ता रेकर्ड गरिरहेका र जताततै कम्प्यूटरमा काम गरिरहेका हाम्रा साथीहरुलाई हेरेर उनी दंग पर्थे । र, पुराना र चिनेका युवा अनुहारसित दुईचार कुरा गर्न चुक्दैनथे । भेटघाट, कफी र गफको यो श्रृंखला कुमारीपाटीको पुरानो अफिस, कुमारीपाटीकै नयाँ अफिस हुँदै अहिलेको धोबीघाटको नयाँपाटीमा पनि चलिरह्यो ।
प्रलादका केही बिशेषताले मलाई सधै आकर्षित ग¥यो । कुनै औपचारिक डिग्री धारण नगरेको मलाई अनुभवको ज्ञानले मान्यता नपाएको कुरा सधै खड्किन्थ्यो । आज पनि खड्किन्छ । उनी अनुसन्धानको र अनुभवको ज्ञानलाई मिसाउथे र उत्तिकै महत्व दिन्थे । मलाई उन्को विद्वता औपचारिक र अनौपचारिक दुबै हिसावले औधि बलियो लाग्थ्यो । चितवन र लागंटांगका स्थानीय वासिन्दाको ज्ञानलाई उनी आफ्नो पिएचडी जत्तिकै महत्व दिन्थे । उन्को अनुहारमा बौध्दिकताको आभा, आँखाको चमक र आत्मसन्तुष्टिको उज्यालो यसैले ल्याएको होला भन्ने म सोच्थे ।
सधै अस्तव्यस्त रहने मलाई उन्को ब्यवस्थित र संगठित आनीवानीले त्यत्तिकै तान्थ्यो । बिषय नतोकि पत्रकारसित कुराकानी नगर्ने उनी कुरा गर्न थालेपछि किताव, प्रतिवेदन र लेखबाट फटाफट तथ्यहरु निकाल्थे र लौ हेर्नुस् भन्थे । उन्ले काम गरिराख्दा उन्को टेवल र कुर्सीमा काम नलाग्ने कुनै पनि कागजको पन्ना र किताव हुँदैनथ्यो । उनी त्यस्ता किताव र कागज मिलाएर राख्थे र कुरा निस्कनासाथ फ्याट्टै दराजको एउटा छेउबाट निकाल्थे र चाहिएको पन्ना र प्याराग्राफ पनि फटाफट देखाउथे । पछि मैले थाहा पाएँ यो उन्ले दोस्रो “बुढो” डा. हर्क गुरुङ्गसित सिकेका थिए ।
प्रलादका कोठा, टेवल, बैठक र टोईलेटमा समेत मिलाएर राखिएका ¥याकका ¥याक कितावले मलाई सधै आकर्षित गरे । मैले कहिल्यै पनि प्रलादसित किताव मागेर पढ्ने आँट गरिन । किताव भएका प्रायः सबै ठाउँमा हातले राम्रा अक्षरमा लेखिएको हुन्थ्यो “त्जष्क ष्क लयत ब ष्दिचबचथ, तजभकभ बचभ यलथि ायच चभाभचभलअभक ”। उनको कार्यालयमा राखिएका संगीतका सीडी र उन्को कम्प्यूटरमा बज्ने गीतबाट उनी बिटल्स र ईन्स्ट्रुमेण्टल सुन्छन् भन्ने कुरा थाहा पाएपछि कहिलेकाँही त्यसैमा कुरा हुन्थ्यो । बिटल्समा उन्को ज्ञानको दायरा थाहा पाएपछि मलाई झण्डै झण्डै अत्यास लाग्यो ।
४ बर्ष अघि एकाबिहानै मेरो मोवाईल बज्यो । फोन प्रलादको थियो “म तपाईलाई भेट्न तपाईको अफिसमा आउँछु, कतिबजे कहिले आउँ ?” भेटघाट बाक्लिदै गएपछि हामी दुबैजना अधिकारपूर्वक समय मिलाउन बानी परिसकेका थियौं । मैले म नयाँबाटो आउँछु भने, तर प्रलादको भनाई थियो “मेरो काम भएकाले मै तपाईकोमा आउँछु ।” जिद्दी गर्दै मैले भने मलाई तपाईकै अफिसमा कफी खान मन छ । “तर गोपाल सर कुरा मेरो हुन्छ र मान्नुपर्छ नि !” मैले मान्न नपर्ने कुरा के होला र…….! मैले यस्तै सोचे । कुमारीपाटीको अफिसदेखि बानी लागेको खाजा र कफी खाने समयमा म त्यसैदिन नयाँबाटो पुगे । खाजा खाईयो, कफी पिईयो । देश, दुनियाँका सबैखाले कुरा भए, चितवनका चरादेखि लिएर रेडपाण्डाका बड्कौलासम्मका ।
अनि प्रलाद शुरु भए “अब मेरो कुरामा आउँ गोपाल सर !”
भन्नोस् न, म ता सुन्न र मान्न कबोल गरेरै आको !
उनी मैले चिनेजानेभन्दा धेरै गम्भीर देखिए र भने “रिसोर्सेस् हिमालयको गभर्निङ्ग वोर्डमा तपाई आउनुप¥यो ।” छक्क परेर मैले मनमनै आफैसित भने “यो डाक्टर बौलायो !”
के भन्ने के भन्ने, एकछिन् अकमक्क परेपछि उन्लाई भने “हैन के कुरा गर्नुभाको डाक्टर साव ? के गर्ने मैले यहाँ ? मलाई मेरै ठाउँमा रहन दिनोस् ! ”
गभर्निङ्ग वोर्डमा प्रस्ताव गरेका डा. पीताम्बर शर्मा र डा. राम क्षेत्रीले प्रस्ताव स्वीकार गरिसकेको बताउँदै वोर्डमा बस्न किन आफुले प्रस्ताव गरेको भन्ने कुरा उन्ले फेरि पनि भनेपछि मलाई लाग्यो “डाक्टर त बौलाएको हो हो, तर अब म पनि बौलाउने भए ! यत्रा पिएचडीधारी र आफ्नो बिषयगत ज्ञानले देश दुनियाँ पिटेर बसेका विद्वानहरुका बीचमा म छ महिना पनि रातीमात्रै कलेजको मुख देखेको र कुनै औपचारिक डिग्री नभएको बबुराले के गर्ने होला ?” मैले मेरो कुरा फेरि पनि डाक्टरलाई भनेर वोर्डमा बस्नलायक केही जानेका साथीभाई र विज्ञको नाम सुझाएँ ।
तर डा. योञ्जनले आफ्नै रेखदेखमा एउटा सानोतिनो अनुसन्धानको काम गरिसकेको (मैले चितवनको पदमपुर निकुञ्जबाट अहिलेको ठाउँमा सर्नु अघि र पछि उहाँसित काम गरेको थिए), नांग्ले पसलबाट शुरु गरेको संस्था ठूलै बनाएर चलाएको कुरा मैलाई सम्झाए । सुन्न मात्र हैन मैले डाक्टरको कुरा मान्ने पनि कबोल गरिसकेको सम्झाएपछि मैले सोचे “आफुले केही गर्न नसके पनि विद्व्वानहरुका कुरा त सुन्न पाईन्छ !” अनि म हुन्छ भनेर उठेँ ।
गभर्निङ्ग वोर्डको सदस्य र चिनजानको यो अवधिमा प्रलाद र मैले सयौपल्ट कुरा ग¥यौ, तर मलाई अहिले पनि आश्चर्य लाग्छ, एकदुईपल्ट बाहेक न उन्ले आफ्नो ब्यक्तिगत कुरा गरे, न मैले मेरो । न त हामी दुबैले ब्यक्तिगत जविनको सोधीखोजी ग¥यौं । कुरैकुरामा एकदिन उन्ले सीतापाईलामा घर किन्न लागेको कुरा गरे । त्यसको अर्को बर्ष मैले घर किनेको कुरा गरे । पोहोर मैले छोरीको बिहेपछि निम्तो गर्न नपाएको कुरा गरे । उनले छोरीको विहे गर्न कुरा छिनेको कुरा भने । हामी दुबैले ससुरा हुन लागेको बिषयमा एकछिन ठट्टा ग¥यौं । हामीले आफ्ना ब्यक्तिगत आनविानीका कुरा धेरै ग¥यौ, तर परिवार र व्यवहारका कुरा गरेको यत्ति नै हो । कात्तिक १५ गते समाचार अपडेट गर्दा डा. योञ्जनका छोराछोरी र श्रीमतिको नाम थाहा नपाएर मैले आफैलाई सोधे “के खालको सम्बन्ध थियो यो ?” उत्तर मसित छैन । त्यसैले प्रलादको बारेमा मैले के हैसियतमा लेख्ने र कति लेख्ने भन्ने अन्यौलमै छु । तर, मलाई के लाग्छ भने प्रलादका बारेमा मैले नै लेख्नुपर्ने केही सन्दर्भ छन् । तर, अहिले त्यता नलागौं ।
प्रलादका कितावले जस्तै रिसोर्सेस हिमालयको कार्यालयको डिजाईनले पनि मलाई सधै आकर्षित ग¥यो । कार्यालय भवन बनाउने निश्चित भएपछि मैले फोन गरे “मलाई सल्लाह चाहिएको छ । भोलि विहानै भेट्न आउँछु !” भोलिपल्ट गएँ, कफी र सल्लाहसँगै ईन्जीनियर ओमहरिको नम्वर पनि लिएर आएँ । अनि, ओमहरिले रिसोर्सेस हिमालयको जस्तै मेहनत गरेर उज्यालो घरको डिजाईन, रेखदेख र सुपरिवेक्षण गरे ।
कात्तिक १४ गते साँझ पौने छ बजेतिर ओमहरिको फोन आयो । फोनमा डा. योञ्जन दुर्घटनामा परेको कुरा सुनाउँदा मलाई पत्यार लागेन । साईकल दुर्घटना र डा. योञ्जनको मृत्युको खबर पत्याउन गाह्रो थियो । अब के गर्ने ! डा. पिताम्बरसित कुरा गरेपछि सबैथोक अध्याँरो लाग्यो ।
अध्यारै मुख लिएर कात्तिक १५ गते बिहान रिसोर्सेस हिमालय पुग्दा हामी कसैले कसैलाई सम्झाउन सक्ने अवस्था थिएन ।
सुन्निएका र निदाउन नसकेका आँखा, अब के गर्ने भन्ने अन्यौल, सबै कुरो त सकियो अब के बोल्नु भन्ने मनस्थितिको म र त्यै मनस्थितिका हामीलाई डा. योञ्जनका आदरणीय “बुढो” डा. पीताम्वर शर्माको गह्रौं स्वरले थिच्यो “वर्वाद भयो । अब के गर्ने भनेर सबैले केही दिन सोचौं ! त्यसपछि छलफल गरौला ! उ ज्ञान, त्याग, समर्पण, संघर्ष, इमान, जोश र मेहनतको एउटा नमुना थियो ! दुर्लभ वन्यजन्तुको अध्ययन गर्ने मानिस हो उ ! तर उ आफैमा पनि अहिलेको नेपालमा खोजेर पनि नपाईने एकदम दुर्लभ मानिस थियो !”
प्रलादका बिषयमा भन्नैपर्ने, तर अरुले भन्न नसक्ने कुरा ! सूत्रमा बोल्ने डा. पीताम्वर शर्माले फेरि सूत्रमा बोले “डा. प्रलाद योञ्जन अहिलेको नेपालमा लोप हुनैलागेको एकदम दुर्लभ मानिस थियो ! उस्को आत्माले शान्ति पाओस् !” कति साँचो र कति गहिरो श्रध्दाञ्जली ! “केही गर्न नसके पनि विद्व्वानहरुका कुरा !” मैले आफु वोर्डमा बस्नुपर्दा आफ्नो मनलाई आफैले सम्झाएको स्मरण गदै मनमनै भने “श्रध्दाञ्जली डा. प्रलाद ! नेपालमा लोप हुनैलागेको एकदमै दुर्लभ मानिसको आत्माले शान्ति पाओस् !”

Leave a Comment

Filed under Uncategorized

शान्ति प्रकृयाको जोखिमपूर्ण नेपाली यात्रा

आजको कुरा
शान्ति प्रकृयालाई टुंगोमा पु¥याउन माओवादी, कांग्रेस र एमालेबीच छलफल चलेको धेरै भयो । तर कुरा कहाँनेर अड्केको छ भनेर कसैले पनि नागरिकलाई नभनेको पनि छलफल चल्न थालेदेखि नै हो । डा. बाबुराम प्रधानमन्त्री भएपछि शान्ति प्रकृया टुंगोमा पुग्छ भनेर जागेको आश सेलाई हालेको त छैन, तर यो प्रकृया सजिलोसित अघि बढ्ला भन्ने बिश्वास जागेको पनि छैन । तर, यो अवधिमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालका कुरा जिम्मेवार लाग्न थालेका छन् । आशा र निराशाका बीच समाज अन्यौलमा परेका बेला मलाई छ बर्ष अघि लेखेर त्यसै थन्किएको एउटा टिप्पणी सार्वजनिक गर्न किन किन लोभ लाग्यो । त्यो बेलाका राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन गर्न थालेको पाँच महिना हुँदै थियो । रेडियोमा समाचार प्रतिवन्धित थियो र पत्रकारहरु फुर्सदमै थिए । २०६२ सालको असार १९ गते हेटौडामा बास बसेर २० गते बिहान म चितवनतिर लागे । बाँकी विवरण त्यसबेलाको टिप्पणीबाट ।

त्यो बेलाको घटना र समयको अनुभूति
असार २० गते बिहानको ८ बजेको थियो । गाडी भर्खर हेटौडा नगरपालिकाको सिमाना काटेर बसामडी पसेको थियो । राजमार्गको दक्षिणतिर मानिसको चहलपहल देखियो । तर, चहलपहलमा महिला र केटाकेटी धेरै थिए । सबैको अनुहारमा त्रास र आश्चर्य थियो । राजमार्गको किनारमा दुईटा लाश थिए । राप्ती खोलातिर खुट्टा र राजमार्गतिर टाउको पारेर फालिएका दुबै लाश तन्नेरीका देखिन्थे । उनीहरुको उमेर यस्तै २५ देखि ३० बर्षको बीचमा हुनुपर्छ । भर्खर फालिए जस्तो देखिने दुबै लासको शरीर नांगै थियो । कम्मर मुन्तिरका लुगा च्यातिएका थिए । उत्तानो पारेर फालिएका दुबै लासको निधारमा रातो कपडा बाँधिएको थियो । उनीहरुको हात नाईलनको डोरीले बाँधिएको थियो । उनीहरुको हात हेर्दा लाग्थ्यो, उनीहरुले हत्यारासित ज्यान नमार्न अन्तिम समयसम्म प्रार्थना गरेका थिए । उनीहरुका हात लाश भैसकेपछि पनि प्रार्थना गरिरहेको मुद्रामा थिए ।

उनीहरु को थिए ? किन मारिए ? उनीहरुलाई कस्ले मा¥यो ? उनीहरुको अपराध के थियो ? यी तन्नेरीहरु कतिबेला मारिए ? कुन ठाउँमा मारिए ? राती १० बजेदेखि बिहान ४ बजेसम्म जिल्लाभरि नै कफ्र्यू लाग्ने मकवानपुर जिल्लाको राजमार्गमा उनीहरुको लाश कसरी आईपुग्यो ? उनीहरुको लाश किन राजमार्गमा ल्याएर फ्याँकियो ? उनीहरुलाई मार्न हत्याराले किन नाईलनको डोरी प्रयोग ग¥यो ? निधारमा किन रातो कपडाको फेटा बाँधियो ? ती दुईटा लाशले मेरो मनमा गाडीको गतिभन्दा तीब्र बेगमा अनेकौं प्रश्न जन्माए । तर भोलिपल्टका पत्रिकाहरुमा “लाश भेटिएको” एउटा सामान्य खबर छापियो । अनि बितेका दश बर्षमा गन्ती गरिएका हजारौ लाशहरु झै ती दुई तन्नेरीका अनुहार पनि मानिसको स्मृतिपटलबाट हराए ।

बितेका दश बर्षमा नेपाली समाज लाश हेर्न, गन्न र त्यसलाई सहज रुपले ग्रहण गर्न अभ्यस्त भैसकेको छ । नाईलनको डोरीले हात खुट्टा बाँधिएका, जीउ अंगभंग भएका, बमका छर्राले हात वा खुट्टा चुडिएका, शरीरका ठाउँ कुठाउँमा प्वाल पारिएका, टाउको नभएका र शरीर बिनाका लाश खोला, खोल्सा, राजमार्ग, जंगल र वस्तीमा कुनै पनि बेला कही पनि भेटिन सक्छन् । त्यो लाश तपाईको हुनसक्छ, मेरो हुनसक्छ । तपाईका आफन्तको हुनसक्छ, मेरो आफन्त, नातेदार वा प्रियजनको हुनसक्छ । तर, लाश भैसकेको मानिस हिजोआज कसैको पनि आफन्त, प्रियजन वा नातेदार मानिदैन, किनभने लाश हिजोआज “आतंककारी”को, “सुराकी”को र “सर्बसाधारण”को मात्रै हुन थालेको छ ।

विद्वान वनस्पतिविद तीर्थबहादुर श्रेष्ठ जिन्दगीभर नेपालका डाँडापाखा घुमे । कतै झुपडीमा बास बसे । कतै हुनेखानेका घरमा । देश घुम्दै उन्ले संसारमा कही नपाईने बोट बिरुवा नेपालमा पाईन्छन् भनेर पत्ता लगाए । तिनको न्वारान गरे । तर, केही दिन अघि उन्ले गाउँघरमा बास पाउन गाह्रो भएको अनुभव सार्वजनिक गरे । यो अनुभव धेरैले गरेका हुन् । त्यसैले यो उन्को मात्र होईन, धेरै नेपालीको अनुभव हो ।

बितेका दश बर्षमा नेपाली समाजको सोचाई, संस्कार र आनीबानी अकल्पनीय रुपले फेरिएको छ । दश बर्ष अघि नेपालमा कोही पनि कसैको पराई थिएन । चिनेको होस् या नचिनेको, साँझ परेपछि कुनै पनि घरमा बास पाईन्थ्यो । पहाडे होस् या मधिसे, बाहुन क्षेत्री होस् वा मतवाली, तन्नेरी होस् या पाको, पूर्वको होस् या पश्चिमको, कुनै पनि घरमा कुनै पनि मानिसले बास पाउँथ्यो । आतिथ्य पाउँथ्यो र सबैभन्दा मुख्य कुरा सुरक्षाको अनुभूति पाउँथ्यो । कसैले कही पनि परायाको अनुभव गर्नु पर्दैनथ्यो ! तर, अबको अवस्था त्यस्तो रहेन । नचिनेको गाउँको त के कुरा ? आफु जन्मे हुर्केको, पढेको र बढेको, आफन्त र नातेदारकहाँ आउन जान पनि हिजोआज धेरैपल्ट सोच्नुपर्छ । किनभने, हिजोसम्मको आफन्त, साथी, नातेदार वा प्रियजन आज तिनै आफन्त, नातेदार र साथीको दृष्टिमा “आतंककारी” वा “सुराकी” मा परिभाषित भैसकेको छ । र, नभएका ठाउँहरुमा पनि परिभाषित हुने प्रकृया शुरु भैरहेको छ ।

आजभन्दा १५ बर्ष अघिको नेपालमा नेपालीलाई “राष्ट्रवादी” र “अत” मानेर हेरिन्थ्यो । दश बर्ष अघि नेपालीहरु “कांग्रेस” र “कम्यूनिष्ट”मा बिभाजित गरिए । बितेका १० बर्षदेखि नेपालीहरुलाई “आतंककारी” र “सुराकी”को परिभाषाभित्र छिराएर हेर्न थालिएको छ । १५ वर्ष अघिको नेपालमा बाबु राष्ट्रवादी र छोरो अत हुन्थ्यो, तर त्यसबाट परिवार र समाजले त्रस्त हुनुपर्दैनथ्यो । किनभने, दुईको बिचार मात्रै फरक थियो । दश बर्ष अघिको नेपालमा बाबु कांग्रेस थियो र छोरो कम्यूनिष्ट । बाबु गाविसको अध्यक्ष र छोरो वडाध्यक्ष भएर काम गर्न कुनै बाधा थिएन । बाबु र छोरा दुबैबाट समाज र समुदायले दुख झेल्न परेन । बरु दुबैले समुदाय र समाजका लागि काम गरे । भनाभन त भयो, तर दुबैको आस्था अहिंसामा आधारित थियो ।

आजको अवस्था त्यस्तो छैन । हिजोको अत, कांग्रेस वा कम्यूनिष्ट आज “सुराकी” वा “आतंककारी” को कोटीमा परिभाषित भैसकेका छ । एउटै परिवारको दाजु सुरक्षा फौजमा छ भने भाई बिद्रोहमा सामेल भएको छ । घरमा आउँदा एउटाको टाउकोमा “आतंककारी”को बिल्ला लागेको हुन्छ भने अर्को गाउँ पस्दा “सुराकी”को रुपमा परिभाषित भैसकेको हुन्छ । सुराकी भनिएको मानिस गाउँ पस्दा बिद्रोहीको ज्यान जान्छ । आतंककारी भनिएको मानिस गाउँ पस्दा सुरक्षा फौजमा जागिर खाने मानिस र उस्को परिवारको उठीबास हुन्छ । दुबैका हातमा हतियार छ । दुबैलाई रगतको नशा चढेको छ । लाशको संख्या बढाउँदा दुबैको वीरता प्रशंसित हुन्छ । उनीहरुका आफन्त, नातेदार र समाजले पनि यो कुरा घाम जत्तिकै छर्लङ्ग बुझेका छन् ।

सबै कुरा हतियारले निर्णय गर्छ भन्ने बिश्वास नेपाली समाजमा बलियो हुँदै गएको छ । र, यो बिश्वाससँगै नेपाली समाजको सोचाई, बिचार र आनीवानी पत्याउनै नसक्ने गरि परिवर्तन भैरहेको छ । हिजोआज गाउँमा पस्ने कोही पनि कसैको आफन्त हुँदैन, नातेदार हुँदैन र साथीभाई हुँदैन । त्यस्तो मानिस कि त शत्रु हुन्छ कि त मित्र ! कि त “आतंककारी” कि त “सुराकी” ! एउटा लाश नभै अर्को जिवीत हुन सक्दैन । दुबैको अस्तित्व अब एकसाथ एक परिवार, एउटा समुदाय र समाजमा असम्भव हुँदै गएको छ । फलस्वरुप, मानिसहरु आफन्त, छिमेकी र साथीभाईको साटो “सुराकी” र “आतंककारी” लाई कुर्न र “सफाया” गर्ने काममा अग्रसर हुन थालेका छन् । परिणाम दिनदिनै राजमार्ग, खोलाखोल्सा, चउर र जंगलमा देखिदैछन् हात बाधिएका, घाउ र निलडामले भरिएका, शरीर अंगभंग भएका तन्नेरीका लाश ।

बिद्रोही र सुरक्षाफौजको भिडन्तमा भन्दा भिन्न किसिमले मारिएका र फालिएका यस्ता लाशहरुले दिने सन्देश लाश भन्दा पनि डरलाग्दो छ । किनभने बिद्रोह र भिडन्तमा लडाकुहरुको मात्र ज्यान जान्छ, तर बिना भिडन्त र बिना कुनै मुठभेड जताततै मानिस मारिनु, फालिनु र लाश भेटिनु गृहयुध्दको शुरुवातका लक्षण हुन् । र, यी लाशहरु नेपाली समाज हिंसा र प्रतिहिंसाको आगोमा अझै डरलाग्दोसित होमिन सक्ने कुराका संकेतहरु हुन् ।

आजको सफाई र बुझाइ
छ बर्ष अघि लेखिएको टिप्पणी भएकाले यहाँ जताततै १० बर्ष भन्ने शब्द परे । आज नेपाल बेग्लै परिवेश, सोच र समयमा आईपुगेको छ । १० बर्षको केही सार्थक र धेरै निरर्थक लडाईपछि पनि आश, त्रास र तनाव यथावत छ । हिंसा र प्रतिहिंसाको आगो बाहिर निभे पनि मान्छेका मनभित्र कुनै न कुनै रुपमा दन्किन छाडेको छैन, चाहे त्यो जातका नाममा होस्, क्षेत्रका नाममा होस् या धर्मका नाममा । हिंसा र प्रतिहिंसाको यो आगो निभोस्, समाज शान्त होस् र काम गरि खाने सजिलो मेलोमा देश अघि बढोस् भन्ने धेरैको चाहना छ । तर, हिंसा प्रतिहिंसाको आगो कुनै न कुनै रुपमा जोगाएर त्यसको रापमा स्वार्थी राजनीतिको रोटी सेक्ने बानी धेरैलाई परेको छ । शान्ति प्रकृयाका धेरै कुरा मिले भने पनि के के मिल्यो र के के मिल्न बाँकी छ भनेर नागरिकलाई नभन्ने कारण कतै यो हिंसाको राप जोगाई राख्नु त हैन ? शीर्ष नेताबाट आज हामीले जान्न खोजेको प्रष्ट कुरा यत्ति मात्रै हो । बाँकी त समयले नै बताउला !

Leave a Comment

Filed under Uncategorized